अत्रि वंशावली
गौतम वंशको संक्षिप्त परिचय - प्रा. गोपीकृष्ण शर्मा गौतम गौतम शब्द ऋषिवाचक नाम हो । सप्तर्षिहरूमा अत्रि ऋषिसंगै गौतम ऋषिको पनि नाम रहेको छ । ती सात ऋषिहरू हुन् ः कश्यप, अत्रि, भरद्वाज, विश्वामित्र ,गौतम, जमदग्नि र वशिष्ठ । ऋषितर्पणी र ऋषिपञ्चमीका दिन प्रायः हिन्दू नर-नारीहरूले यी ऋषिहरूको पूजा-आजा गर्ने र व्रत बस्ने परम्परा छ । खास गरी ब्राह्मण-क्षत्रिय वर्गका विवाहित नारीहरूले अरुन्धतीसहित सप्तर्षिको पूजा-अर्चना गर्ने प्रक्रिया कायमै रहेको पाइन्छ । यिनै गौतम ऋषिसंग गौतम थर हुने अत्रिगोत्रीय ब्राह्मण-क्षत्रियहरूको गौतम वंशका रूपमा सम्बन्ध रहनु राम्रो सुयोग हो । गोत्रप्रवर्तक ऋषिपरम्पराका दृष्टिले भने गौतम थर हुनेहरूको सम्बन्ध अत्रि ऋषिसँग रहेको छ, गौतम ऋषिसँग होइन । पूर्व गौतम आश्रमका बासिन्दा अथवा गोताम गाउँका पुराना रैथाने घर -परिवारका सन्तान-दरसन्तानका रूपमा फैलिएका व्यक्तिहरू नै गौतम थरका हुन् र यिनलाई गोतामे पनि भनिएको पाइन्छ । ‘गोतामे’बाट नै निकटतम ऋषिवाची शब्दपरिवर्तन गरी अधिकतम ध्वनिसाम्य कायमै राखेर ‘गौतम’ भन्न थालिएको हो । गौतम शब्दको प्युत्पत्ति ‘गोतामबाट भएको छ । गोधनद्वारा दारिद्र्यरूपी अन्धकार ध्वस्त गर्ने अथवा इन्द्रियनिग्रहद्वारा सांसारिक माया-प्रपञ्चमाथि विजय गर्ने भन्ने अर्थमा ‘ गोतम शब्द निष्पन्न भएको (गोभिध्र्वस्त तमो यस्य, बहुव्रीहिः, पृषोदरादित्वात् साधु-आप्टे ) छ । गोतम शब्द पनि ऋषिकै नाम हो । यिनी अङ्गिरा कुलका ऋषि हुन्, र अहल्याका पति हुन् । यिनैलाई गौतम पनि भनिएको छ । यही ‘गोतम शब्दबाट गोतमका सन्तान भन्ने अर्थमा गौतम(गोतम + अण् ) शब्द व्युत्पन्न भएको छ । अत्रिगोत्रीय द्विजातिको थरका रूपमा आएको गौतम शब्दले उक्त पौराणिक वा प्राचीन सन्दर्भलाई सम्झाए पनि अत्रिगोत्रीहरूको ‘ गौतम भन्ने थर प्रकारान्तरबाट आएको पुष्टि हुन्छ । गौतम वंश भन्नाले यहँाँ गोताम, गोतामे वा गौतम थर हुने अत्रिगोत्रीय ब्राह्मण -क्षत्रियवर्गलाई लिइएको छ । गौतम थर हुनेहरू गौतम ऋषिका वंशज होइनन् , गोत्रप्रवर्तक अत्रि ऋषिका परम्पराका वंशज हुन् । अत्रिगोत्रकै कुल -परम्परामा अत्रि ऋषिसँग सम्बन्धित पुस्तौनी शृङ्खलामा गौतम थरको साइनो गाँसिएको छ । थर भनेको पुख्र्यौली वंशपरम्पराको पहिचान गराउने वंशानुगत उपनाम हो । यो पूर्व - परम्पराबाट पुस्ता प्रतिपुस्ता हुँदै नामसँग गासिएर आएको हुन्छ । पुर्खाले बसोबास गर्ने थलोलाई सम्झाउने अर्थमा समेत ‘ थर आएको छ । संस्कृत ‘स्थल’ बाट ‘थल’ हुँदै ‘थर’ शब्द बनेको हो । पुरानो बासस्थानका आधारमा ‘थर’ बनेका उदाहरण प्रशस्त पाइन्छन् । अहिले पनि बसाइँ सरेर नयाँ थलोमा आउने कतिपय घर-परिवारलाई नयाँ ठाउँका रैथाने बासिन्दाहरूले पुरानै थलोको नाम लिएर चिन्ने -चिनाउने चलन छँदै छ । आँधीखोले, कालीपारे आदि यस्तै उदाहरण हुन् । पश्चिम भेगका विकट पहाडी भूभागबाट पूर्वतर्फ केही सुगम र सहज पहाडी प्रदेशमा बसाई सर्दा पुरानो थलोलाई लिएर नव आगन्तुक घर-परिवारलाई परिचित गराउन थालियो र पछि त्यही नै थरका रूपमा परिणत भयो । ‘गोतामे’ भन्ने ठाउँमा बस्ने वा गोतामे बाट आएका भन्ने अर्थमा गोतामे ( पछि गौतम पनि ) पराजुलबाट आएका पराजुली आदि यसरी बनेका थरहरू हुन् । ईशाको एघारौं शताब्दीदेखि नै विविध गोत्रका ब्राह्मण जातिहरू मुसलमान शासकहरूको आक्रमणबाट बच्न पश्चिम भारतबाट नेपालको तत्कालीन कणर्ाली प्रदेशमा प्रवेश गरे । जातिगत इतिहास र कतिपय वंशावलीमा यस कुराको प्रमाण पाइन्छ । वर्तमान नेपालको पश्चिमी विकट पहाडी भूमिमा बसाइँ सर्नुको मुख्य उद्देश्य हिन्दू धर्म र संस्कृतिको सुरक्षा गर्नु थियो । भारतमा मुसलमानहरूको आक्रमणका साथै हिन्दू धर्म तहसनहस पार्ने अभियान थालिएकाले यी ब्राह्मण जातिहरू हिन्दू धर्म र सनातन वैदिक संस्कृतिको संरक्षण गर्न भारतका कन्नौज, उज्जैन आदि प्रदेशबाट यस हिमाली प्रदेशमा प्रवेश गरेका हुन् । यही प्रवेशका क्रममा अत्रिगोत्रीय ब्राह्मणहरू विशाल जुम्ला साम्राज्यको ‘ गोताम’ भन्ने ठाउँमा आएर बसे । ईशाको तेह्रौं शताब्दीसम्ममा यिनीहरूको आगमन त्यस पहाडी भू-भागमा भइसकेको अनुमान छ । जुम्लाका नरेशबाट पनि उचित आश्रय र सम्मान पाएको हुनाले यसरी आउने ब्राह्मणवर्गलाई अनुकूल स्थिति रहेको प्र्रतीत हुन्छ । गोताम वा गौतम गाउँमा यसप्रकार अत्रिगोत्रीय ब्राह्मणहरू भारतबाट आए भन्ने विवरण चाहि कुलचन्द्र गौतमको ‘गौतम वंशवृत्तम्’ भन्ने अप्रकाशित कृतिमा समेत रहेको भन्ने उल्लेख प्रा. माधवराज गौतमबाट भएको छ । उक्त ग्रन्थमा मुसलमानहरूको आक्रमणबाट सुरक्षित हुन र धर्मरक्षा गर्न अत्रिगोत्रका ब्राह्मणहरू पश्चिम पहाडी भेगको गोताम नाम गरेको गौतम ग्राममा आए भन्ने उल्लेख छ । जस्तै - “ केचित्तेषु ब्राह्मणा अत्रिगोत्रा गोतामाख्यं गौतमग्राममापुः ” । गोताम गाउँका बारेमा पनि केही जनश्रुति पाइन्छ । गाईहरू प्रशस्त पालिने ठाउँ भएकोले गोधाम भनियो र त्यही नै उच्चारणक्रममा पछि गोताम भयो भन्ने किंवदन्ती छ । यसै गरी गौतम ऋषिको प्राचीन आश्रम भएकाले ठाउँको नाम गौतम, गोताम आदि रहेको भन्ने अनुश्रुति पनि छ । यस प्रदेशमा आएका ब्राह्मणहरू अत्रिगोत्रीय थिए र अग्निहोत्री ब्राह्मण थिए । वैदिक धर्म मान्ने र सात्विक भोजन गर्ने गोतामेहरू मांसाहारी थिएनन् । गोतामेहरूले माछामासु खान हुँदैन भन्ने परम्परा पनि धेरै पछिसम्म चलेको पाइन्छ । यिनै गोतामेहरूले नै विद्वान् कुलचन्द्र गौतमको अनुसरण गरेर गौतम लेख्न थालेका हुन भन्ने चर्चा विद्वान्हरूले गरेका छन् । अहिले पढाइ-लेखाइका क्रममा र नागरिकता प्रमाणपत्र आदि बनाउँदासमेत धेरै गोतामेहरू गौतम भएका छन् । यसरी गोतामे र गौतम पर्यायवाची शब्द हुन् । समान थर बुझाउने लवज हुन् । भवानी गौतमले गौतम वंशमञ्जरी (२०४१) भन्ने कृतिमा भारतबाट वर्तमान नेपालको कणर्ाली प्रदेशमा सर्वप्रथम प्रवेश गर्ने गौतमवंशीय पुर्खाहरूको वणर्न गरेको छन् । उक्त वंशमञ्जरीका अनुसार भारतको कन्नौज (कान्यकुब्ज) र हरियाणातर्फबाट अत्रिगोत्रीय लल्ल (लल्लक) र काशीदास नाम गरेका बाबु -छोरा मुसलमानको आक्रमणबाट सुरक्षित हुनका लागि जुम्लाको सिंजा प्रान्तमा आए । सिंजा क्षेत्र नेपाली भाषाको मूल थलो पनि मानिन्छ र खस साम्राज्यको चकचकी भएको बेला सिंजा अधित्यका प्रशासकीय केन्द्र भएको पनि विशेष महत्व राख्छ । योगी नरहरिनाथले पनि इतिहासप्रकाशमा अत्रि गोत्र, थर गौतम भएकाहरूको पुरानो थलो जुम्लाको गोताम रहेको उल्लेख गरेका छन् । हाल राप्ती अञ्चल, रुकुम जिल्लाको गोताम भन्ने ठाउँ तत्कालीन विशाल जुम्ला साम्राज्यभित्र नै पर्ने हुनाले त्यसै ठाउँलाई यी विद्वान्हरूले उल्लेख गरेका हुन् भन्ने अभिमत पनि छ । जुम्ला-क्षेत्रमा सर्वप्रथम प्रवेश गर्ने लल्ल र काशीदासमध्ये काशीदास एक्लै आएका हुन् र गौतमवंशका नेपाल प्रवेश गर्ने आदि पुर्खा काशीदास हुन् भन्ने मत अधिकांश विद्वान्हरूको छ । कतिपय गौतमहरूको वंशवृक्षमा काशीदासको नाम जुम्ला -क्षेत्रमा प्रवेश गर्ने आदिपुरुषका रूपमा उल्लेख भएको छ । यसरी अहिलेसम्मको खोजीनीतिमा गौतमवंशीय अत्रिगोत्रका आदिपुरुष काशीदासबाट नेपालमा गौतमवंशको परम्परा वृद्धि हुँदै गएको र उनैको सर्वप्रथम वर्तमान नेपालको जुम्ला-क्षेत्रमा आगमन भएको हुनाले गौतमवंशका आदिपुर्खा नेपालका सन्दर्भमा काशीदास रहेको भन्ने अवगत हुन्छ । काशीदासपूर्वका वंशजहरूको खोजी गर्दै जाँदा प्राचीन समयमा भारतको कन्नौजमा बसोबास गर्ने अत्रिगोत्रीय अग्निहोत्री ब्राह्मण ऋतुभद्रको नाम देखा परेको छ । यस प्रकार अत्रिगोत्र, गौतम वंशका सबभन्दा पहिलेका आदिपुरुष ऋतुभद्र हुन् र यी अत्रि ऋषिका पुस्तौनी सन्तान हुन् । यिनैका वंशज काशीदास भारतबाट हिन्दू धर्म र संस्कृतिको सुरक्षा गर्न वर्तमान नेपालको कणर्ाली प्रदेशमा प्रवेश गरेका हुन् । यसरी धार्मिक आश्रयको खोजीमा पसेका काशीदासलाई सिंजा-नरेश (विशाल जुम्ला साम्राज्यका खस नरेश ) ले ससम्मान आश्रय दिए । यिनलाई विर्ता पनि प्रदान गरे । काशीदासका सन्तानलाई सिंजा नरेशले र जुम्लाप्रदेशका नरेशले पनि यी विद्वान् धर्माधिकारीहरूलाई गोताम, खत्याड, रिम, दह, पोखरी आदि नाम गरेका गाउँ विर्ताका रूपमा प्रदान गरे । यिनै स्थानका आधारमा गोतामे, खतिवडा आदि थर रहेको भन्ने चर्चा प्राचीन वंशावली आदिमा पाइन्छ । गौतम वंशका सगोत्री अन्य थरहरूमा खतिवडा , चापागाई , वस्ती, मिश्र, ओझा आदि थर रहेका छन् । नेपाल एकीकरण हुनुभन्दा पूर्व जुम्लाको विशाल खस साम्राज्यअन्तर्गत दैलेख, जाजरकोट, रुकुम आदि क्षेत्रहरू पनि पर्दथे । यिनमा रुकुम जिल्लालाई गौतमवंशको आदिथलो मानिन्छ । वर्तमान राप्ती अञ्चलको रुकुम जिल्लामा गोतामकोट भन्ने गाउँ अहिले पनि छ । यो ठाउँ गौतमवंशहरूको पुरानो आदिथलो हो र यहींबाट गोतामे थरका मानिसहरू बसाइँ सर्ने क्रममा नेपाल अधिराज्यभरि विभिन्न जिल्लामा फैलिएर रहेका छन् । भवानी गौतमको ‘ अत्रिवंशदर्पण का अनुसार यिनै गोतामेहरू नै.पंं कुलचन्द्र र शालिग्रामले गौतम थर चलाएअनुरूप गौतम भएका हुन् । केही परिवारमा भने ‘ गोतामे थर कायमै रहेको पनि पाइन्छ । गोत्रका दृष्टिले गौतम वंशका गोत्र र प्रवरका समेत प्रवर्तक आदि ऋषिका रूपमा महर्षि अत्रि रहेका छन् । अत्रि ऋषि ब्रह्माका मानसपुत्र हु्न् र तपोवलले सप्तर्षिमध्ये एक ऋषिका रूपमा रहेका छन् । रामवनवासका सन्दर्भमा राम र सीता यिनै अत्रिका आश्रममा केही समय रहेको उल्लेख रामायण तथा पौराणिक ग्रन्थहरूमा पाइन्छ । यिनै अत्रि ऋषिकै वंशपरम्परामा गौतम थरका आदिपुरुष ऋतुभद्रको नाम आएको छ । अत्रिदेखि ऋतुभद्रसम्मको वंशपरम्परा अतीतको गर्भमा रहेको छ र यसको यथासम्भव खोज -अन्वेषण हुनु वाञ्छनीय पनि छ । अत्रिगोत्र हुने गौतम थरका गौतम वंशजहरूको आदिथलो पश्चिम नेपालको कणर्ाली क्षेत्र हो भन्ने स्पष्ट भइसकेको छ । वर्तमान नेपालको कणर्ाली क्षेत्रमा सर्वप्रथम प्रवेश गर्ने गौतम वंशका पुर्खा काशीदास हुन् भन्ने प्रमाण विभिन्न अभिलेख र वंशावलीबाट ज्ञान हुन्छ । “ गोतामे बन्धु २०५६” दाङबाट २०५६ सालमा प्रकाशित गोतामे वंशावलीमा वाणीविलासद्वारा वि.सं. १८५० मा लिखित हस्ताक्षर प्रतिको फोटो कापी छापिएको छ । उक्त फोटोकापीमा पनि गौतमका आदिपुर्खा काशीदास कन्नौज क्षेत्रको हरियाना ग्रामबाट आएको भन्ने उल्लेख छ । हिन्दू धर्म र वैदिक संस्कृतिको रक्षाका लागि षट्शास्त्रवेत्ता तथा चतुर्वेदमा पारङ्गगत काशीदास सिंजा प्रदेशमा आई नरेशबाट सम्मानित भएर विर्ता समेत पाई बस्न थाले भन्ने प्रमाण त्यहाँ पाइन्छ । त्यसैले भारतबाट नेपालमा आउने अत्रिगोत्रीय गौतम वंशका प्रथम व्यक्ति काशीदास हुन् भन्ने प्रमाणित हुन्छ । र्वतमान परिप्रेक्ष्यमा गोतामे थर हुने गौतम वंशका व्यक्तिहरू आदिथलो पश्चिम कणर्ाली क्षेत्रदेखि लिएर पूर्व मेची अञ्चल र नेपाल बाहिर पनि छरिएर रहेका छन् । नेपाल अधिराज्यका प्रायः सबै जसो अञ्चलहरूमा गोतामे वा गौतम थर हुने व्यक्तिहरूको बसोबास छ । नेपालका विविध जिल्लाहरूमा सर्वप्रथम उक्त गोतामे वा गौतम थरका कुन व्यक्ति कहाँबाट आएका हुन् भन्ने विषयमा यसप्रति अभिरुचि राख्ने महानुभावहरूबाट खोजिनीति हुँदैछ र केही भएको पनि छ । खिदिममा मूल पुरुषका रूपमा श्रीधर गौतमको आगमन भएको भन्ने नारायण गौतम, प्रेमनारायण गौतम आदिको खोजपूणर् धारणा छ । गौतम वंशको खोज -अध्ययनमा धेरै पहिलेदेखि नै लागिपर्ने अनुसन्धाता भवानी गौतमको प्रयास निकै स्तुत्य छ। २०१७ सालदेखि नै गौतम कुलको खोजीमा लागेको सन्दर्भ २०१७ सालमा प्रकाशित ‘ गौतम कुलको सुन्दर कुसुमबाट समेत अवगत हुन्छ । भवानी गौतमले यस क्रममा पुगनपुग एक दर्जन किताब प्रकाशित गरेका छन् । यिनका केही उल्लेख्य कृतिहरूमा ‘ गौतम वंश वटवृक्षाकार ( २०२४ ), “ गौतम वंशपरिचय (२०२७ , ” ‘ गौतम कुलदेववतापूजा (२०३८) , ‘ अत्रिवंशदर्पण (२०३९) , गौतमवंशमञ्जरी (२०४१) आदि उल्लेखनीय छन् । यस क्रममा कुलचन्द्र गौतमको ‘ गौतमवंशवृत्तमु. ( अप्रकाशित ) र हरिहर संस्कृत विद्यालयको स्वणर्जयन्ती स्मारिका ( २०४४) मा नारायण गौतम शास्त्रीद्वारा प्रकाशित ‘ऐतिहासिकी गौतमवंशावली ” नामक संस्कृतग्रन्थहरूले पनि गौतम वंशबारे राम्रो प्रकाश पारेको प्रतीत हुन्छ । गौतम वंशका आदिपुरुष को थिए र नेपालमा सर्वप्रथम प्रवेश गर्ने आदि पुर्खा को हुन् भन्ने बारेमा विभिन्न कृतिका आधारबाट यहाँ संक्षिप्त चर्चा गरिएको छ ।गौतम समाज, काठमाडौंंद्वारा २०५६ सालमा प्रकाशित स्मारिकाबाट पनि हामीलाई गोतामे वा गौतमहरूका बारेमा धेरै कुरा जानकारी हुन्छ । यस परिप्रेक्ष्यमा गौतम समाज ( २०५४) द्वारा प्रकाशित भएको ‘ गौतम वंशावली खोज -अनुसन्धानका साथै यथासम्भव अधिकांश गौतम(गोतामे ) हरूको विवरण दिने उल्लेख्य ग्रन्थ हुने तथ्य निर्विवाद छ । हामी गौतम वन्धुहरू आफ्नो कुल-परम्परा र वंशगत समृद्धिमा अझ समाहित हुन सकौं , कुल-धर्म र कुल-मर्यादालाई अरू समुन्नत पार्न सकौं । यिनै भावनाका साथ गोत्रप्रवर्तक अत्रि ऋषिप्रति श्रद्धावनत हुँदै समस्त गौतम-बन्धुसँग आत्मीय सम्मानभाव व्यक्त गर्दछु ।